सर्लाही, २१ असाेज । हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।
दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश थियो ।
चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो ।
गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दावी छ । उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ उनी मृत घोषित भए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका छन् ।
यसअघि टोलीले सेक्टर ४९ चोरीको सम्बन्धमा जोराका सहयोगी युवराज थापालाई पक्राउ गरेको थियो । जोरा सूरत (२०१४), कर्नाटक (२०२२), र गाजियाबाद (२०२२) मा भएका मुद्दाहरूमा पनि जोडिएका थिए ।
यस्तो थियो अपराध
जोराको गिरोहले धनी घरहरूमा काम पाउन नक्कली आधार कार्ड प्रयोग गर्थे । पछि त्यहाँका बासिन्दालाई नशालु पदार्थ दिएर वा बन्धक बनाएर मूल्यवान सामान चोरी गरी नेपाल भाग्ने गर्थे।
घरहरूमा जासुसी र डकैतीका लागि सदस्यहरूलाई घरेलु कामदारको रूपमा राखेर घुसाउने गिरोहका मुख्य षड्यन्त्रकारी जोरा मे २०२४ मा दिल्लीका डाक्टरको हत्यापछि उनकी श्रीमती वर्षासँगै फरार थिए ।
उनी डा. पौलको हत्याका पनि खोजी सूचीमा थिए। ६३ वर्षीय डाक्टरलाई जांगपुरा एक्सटेन्सनस्थित भान्सामा लुटपाटको क्रममा घाँटी अँठ्याएर मारिएको थियो ।
यो घटनामा डाक्टरको लामो समयदेखिकी घरेलु कामदार बसन्ती संलग्न थिइन्, जसले डाक्टरसँग भएको नगद र गरगहनाको विवरण जोराको टिमसँग बाँडेकी थिइन् ।