सर्लाही, २१ असाेज । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यस वर्ष त्यो दिन दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालले सात सय ५३ पालिकामा दुईदिने अभियानमा पाँच वर्षमुनिका झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र झन्डै ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराउनुभयो ।
यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने झन्डै ९० प्रतिशत र जुकाको औषधि खाने झन्डै ८७ प्रतिशत रहेका छन् ।