सर्लाही, २४ असाेज । बिल–बिजकभन्दा बढी मालसमान भएको शंका लागेपछि प्रहरीले मकवानपुरमा एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे रातोमाटे चेकपोस्टमा नियमित सवारी चेकजाँचका क्रममा उक्त ट्रक रोकिएको हो ।
बिरगंजबाट हेटौँडातर्फ गइरहेको लु.२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई प्रहरीले शंका लागी जाँच गर्दा त्यसमा बिल–बिजकमा उल्लेखितभन्दा बढी सामान लोड गरिएको पाइएको थियो ।
ट्रकभित्र औषधी, भाँडाकुडा, खाद्यान्न लगायतका सामानहरू रहेको र ती सामानहरूको मूल्य २८ लाख ७० हजार बराबर हुने प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त ट्रकसहित चालक हिरालाल प्रसाद कुर्मी ९४५ वर्ष० लाई नियन्त्रणमा लिएको छ। उनी जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१४, पिपरा निवासी हुन् ।
नियन्त्रणमा लिइएका सामान र चालकलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा मालसमान ढुवानी हुने क्रम रोक्न नियमित अनुगमन र चेकजाँच अभियान जारी राखिएको छ ।
