सर्लाही, ०६ कार्त्तिक । जेनजी आन्दोलनका क्रममा राजधानीमा जलेका सरकारी सवारी साधनहरू अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको हाताभित्र थुप्रिएका छन् । तीमध्ये धेरै गाडी अब पत्रुको मूल्यमा, किलोको भाउमा बेच्नुपर्ने बाध्यता आएको छ ।
भदौ महिनाको आन्दोलनपछि सिंहदरवार र आसपासका क्षेत्रबाट उठाइएका सवारी साधनहरूलाई शहरी विकास मन्त्रालय र सडक विभागले मुचुल्का उठाएर संसद् भवनमा पुर्याएका हुन् । हालसम्म १४५ वटा चार पाङ्ग्रे, २५६ वटा दुई पाङ्ग्रे र २ वटा बस त्यहाँ जम्मा गरिएको बताइएको छ ।
अझै करिब सयौँ जलेका सवारी साधन विभिन्न स्थानबाट उठाउन बाँकी छ । जुन गाडीहरू पूर्ण रूपमा जलेका छन्। स्पेयर पार्ट्स समेत प्रयोग गर्न नमिल्ने भएसँगै अब कवाडीको मूल्यमा बेच्नुबाहेक विकल्प छैन । धेरै गाडी जलेर फलामको गुणस्तर समेत नष्ट भएकोले किलोको रूपमा मात्रै बिक्री हुने अधिकारीहरू बताउँछन् । अहिले प्रतिकिलो फलामको मूल्य ४५ रुपैयाँ छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा असोज ५ गते मन्त्रिपरिषद्ले काम नलाग्ने सम्पत्ति पत्रु मूल्यमा बिक्री गर्ने नीति पारित गरेको थियो । निर्णयअनुसार, आगजनी वा तोडफोडबाट नष्ट भएका सम्पत्तिलाई न्यूनतम लिलामी मूल्य तोकी बिक्री गर्न सकिनेछ ।
जलेका गाडीहरू पुन:प्रयोगका लागि स्टील उद्योगमा काम लाग्ने र डन्डी र पाइप बनाउन प्रयोग गरिने बताइन्छ ।
अधिकांश गाडी आंशिक रूपमा मात्र बीमित भएकाले बीमा क्षतिपूर्ति माग्न नसकिने अवस्था छ । जसबाट अब सरकारी सवारीहरूको पनि बीमा गरिनुपर्छ भन्ने लागेको सरकारी अधिकारीहरू बताउँछन् ।

