सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका–९ मा अवस्थित पुरानो बस स्ट्यान्ड पोखरीमा छठ पूजाका लागि सजाइँदै ।

सर्लाही, ०७ कार्त्तिक । दिपावली समापनसँगै मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रुपले जुटेका छन् । 

छठका लागि सर्लाहीको सदरमुकाम मलंगवासहित सबै गाउँ शहरका पोखरी, नहर, नदीहरुमा तयारी सुरु भएको छ ।

यस पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा पानी मै गरिने भएकाले मलंगवा सहित सम्पूर्ण मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मतको काममा जुटेको एक स्थानीयले बताए ।

प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि सदरमुकाम मलंगवास्थित झिम नदी, मुरली पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, शिवसागर पोखरी सहित जिल्लाका अन्य स्थानीय तह समेतको सहयोगमा घाटहरूमा सरसफाइ र सजावट लगायतका काम भइरहेको छ । 

मलंगवा र भेल्ही सिमानामा पर्ने झिम नदीमा छठ पर्व मनाउनका लागि नदीकाे किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्ट सहित भव्य छठघाट निर्माण गर्न थालिएको छ ।

मलंगवा तथा भेल्ही स्थानीयले सोही नदीमा संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । यी स्थानमा धार्मिक र सांस्कृतिक हिसाबले एकरूपता र सहिष्णुता देखिन्छ ।

विगतमा मधेसी समुदायले मात्र मनाउँदै आएको मिथिलाको मुख्य पर्व छठ अहिले आएर देश भरि पहाडी समुदाय लगायत मुश्लिम धर्माम्बलम्बीहरुले समेत मनाउन थाले देखि यसको महत्व दिन दिनै बढी रहेको छ । 

चार दिवसीय छठ पर्व शनिवार देखि विधिवत सुरु हुँदैछ । छठ पर्वको पहिलो दिन शनिवार नहाय खाय, दोस्रो दिन आइतवार खरना र तेस्रो दिन सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य र अन्तिम दिन मंगलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठको विधिवत समापन गरिन्छ । 

यता छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि पनि हाट बजारमा भिडभाड देखिएको छ । बजारमा अघ्र्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखु लगायतका सामग्रीहरू किन्नेको भिड छ ।

यसैगरी, छठ पर्वको अवसरमा संघीय सरकारको छठ पर्वको मूल पूजा कार्तिक १० गते सार्वजनिक विदा रहेकोमा मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो । मन्त्रालयका अनुसार प्रदेश सरकारले कार्तिक ११ गते मंगलबारका दिन मधेश प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यो विदा प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना अन्तर्गत थप गरिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *