मलंगवामा छठको तयारीमा जुटे समुदाय

Byसदाम हुसैन

२०८२ कार्तिक ७, शुक्रवार २०८२ कार्तिक ७, शुक्रवार २०८२ कार्तिक ७, शुक्रवार
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका–९ मा अवस्थित पुरानो बस स्ट्यान्ड पोखरीमा छठ पूजाका लागि सजाइँदै ।

सर्लाही, ०७ कार्त्तिक । दिपावली समापनसँगै मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रुपले जुटेका छन् । 

छठका लागि सर्लाहीको सदरमुकाम मलंगवासहित सबै गाउँ शहरका पोखरी, नहर, नदीहरुमा तयारी सुरु भएको छ ।

यस पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा पानी मै गरिने भएकाले मलंगवा सहित सम्पूर्ण मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मतको काममा जुटेको एक स्थानीयले बताए ।

प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि सदरमुकाम मलंगवास्थित झिम नदी, मुरली पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, शिवसागर पोखरी सहित जिल्लाका अन्य स्थानीय तह समेतको सहयोगमा घाटहरूमा सरसफाइ र सजावट लगायतका काम भइरहेको छ । 

मलंगवा र भेल्ही सिमानामा पर्ने झिम नदीमा छठ पर्व मनाउनका लागि नदीकाे किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्ट सहित भव्य छठघाट निर्माण गर्न थालिएको छ ।

मलंगवा तथा भेल्ही स्थानीयले सोही नदीमा संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । यी स्थानमा धार्मिक र सांस्कृतिक हिसाबले एकरूपता र सहिष्णुता देखिन्छ ।

विगतमा मधेसी समुदायले मात्र मनाउँदै आएको मिथिलाको मुख्य पर्व छठ अहिले आएर देश भरि पहाडी समुदाय लगायत मुश्लिम धर्माम्बलम्बीहरुले समेत मनाउन थाले देखि यसको महत्व दिन दिनै बढी रहेको छ । 

चार दिवसीय छठ पर्व शनिवार देखि विधिवत सुरु हुँदैछ । छठ पर्वको पहिलो दिन शनिवार नहाय खाय, दोस्रो दिन आइतवार खरना र तेस्रो दिन सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य र अन्तिम दिन मंगलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठको विधिवत समापन गरिन्छ । 

यता छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि पनि हाट बजारमा भिडभाड देखिएको छ । बजारमा अघ्र्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखु लगायतका सामग्रीहरू किन्नेको भिड छ ।

यसैगरी, छठ पर्वको अवसरमा संघीय सरकारको छठ पर्वको मूल पूजा कार्तिक १० गते सार्वजनिक विदा रहेकोमा मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो । मन्त्रालयका अनुसार प्रदेश सरकारले कार्तिक ११ गते मंगलबारका दिन मधेश प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यो विदा प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना अन्तर्गत थप गरिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *