सर्लाही, २५ कार्त्तिक । सर्लाही जिल्लाका दुई गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हालेका छन् ।

कौडेना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास हाजिर भएका छन् । दासलाई गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवी, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका छन् ।

केही साताअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत रहेका दासलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट सरुवा गरी कौडेना पठाएको हो । गोडैता नगरपालिका निवासी शाखा अधिकृत दासले कार्यभार सम्हाल्दै सबै कर्मचारीलाई कार्यालय समयमै उपस्थित हुन र पोसाक लगाएर मात्र कार्यालय आउन निर्देशन दिएका छन् ।

यसअघि करिब १० महिनासम्म आयुर्वेद शाखाका कविराज डा. सोनेलाल साह ले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै, सर्लाहीकै ब्रह्मपुरी गाउँपालिकामा पनि आज नयाँ प्रमुख प्रशासकीय अधिकृत धनन्जयप्रसाद दास हाजिर भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकाबाट कात्तिक २१ गते सरुवा गरी पठाएको हो ।

ब्रह्मपुरीमा करिब दुई वर्षदेखि स्वास्थ्यतर्फका अधिकृत छैठौं उपेन्द्र राउत ले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए ।

नयाँ अधिकृतहरूको आगमनसँगै दुबै गाउँपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *