सर्लाही, २७ कार्त्तिक । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।
नेपालमा ‘फ्यामिली पेयरिङ फिचर’ सुरु गरेपछि टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू उपलब्ध गराएको हो ।
फ्यामिली पेयरिङ मार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रिन-टाइम म्यानेजमेन्ट टुल प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्नेछन् । साथै दैनिक स्क्रिन-टाइम लिमिट राख्न र शेड्युल ब्रेक राख्न पनि मिल्नेछ ।
डाइरेक्ट मेसेजिङ, भिडिओमा कमेन्ट, अकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडिओ डाउनलोड गर्न पाउने जस्ता सेटिङ नियन्त्रण गर्न पनि यसबाट सकिनेछ ।
सजिलो सेटअपदेखि डिजिटल सुरक्षासम्म, प्रयोगकर्ता र समुदायको सुरक्षा सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता टिकटकले दोहोर्याएको छ।
१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्टमा डाइरेक्ट मेसेजिङ स्वत: बन्द हुन्छ । अनि राति पुश नोटिफिकेसन पनि म्युट हुन्छ । टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फिडको व्यवस्था गर्छ ।
१८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रिन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ । यस प्रणालीले किशोर-किशोरीका लागि अनुपयुक्त मानिएका कन्टेन्टहरू छानेर हटाउँछ र प्रयोगकर्ता सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधि प्रयोग गर्छ ।
