सर्लाही, २८ कार्त्तिक । २३ र २४ भदौको घटनामा भएको क्षतिको विषयमा गठित जाँचबुझ आयोगले उच्चपदस्थको बयान लिने तयारी गरेको छ। आयोगले आन्दोलन दमनमा संलग्न ६ जनालाई स्थानहद तोकेर विदेश भ्रमण समेत रोक लगाएको छ ।
बिहीबार निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाउनुका साथै अनुमतिबेगर उपत्यका समेत नछाड्न निर्देशन दिएको छ । २३ भदौको आन्दोलन दमनको बारेमा तत्कालिन आइजिपी खापुङसँग बयान लिने आयोगको तयारी छ । खापुङले यसअघि आयोगलाई छानविनमा समेत असहयोग गरेपछि स्पष्टीकरण सोधिएको थियो ।
आयोगले एक महिनाअघि नै पाँच जनालाई विदेश जान रोक लगाउँदै स्थानहद तोकेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी, गुप्तचर प्रमुख हुतराज थापा र सिडिओ छवि रिजाललाई स्थानहद तोकिएको थियो । जेनजी आन्दोलनमाथि बल प्रयोगमा मुख्य भूमिका देखिएकाले उनीहरुलाई स्थानहद तोकिएको आयोगका एक सदस्य बताउँछन् ।
एक सातायता आयोगले बयान लिन सुरु गरेको छ । हाल फिल्डमा खटिएका प्रहरीको बयान लिइरहेको छ । उनीहरुको बयान सकिएपछि तत्कालिन आइजिपी खापुङ हुँदै तत्कालिन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको बयान लिइने आयोगले जनाएको छ । ओली र लेखकलाई छानविनको दायरामा ल्याउन ढिलाई गरिएकोमा जेनजी अगुवाहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
आयोगको म्याद ५ पुसम्म रहेको छ। सो अवधिभित्रै प्रतिवेदन तयार गर्ने गरी आयोगले छानविनलाई तिव्रता दिएको छ ।
