oppo_2

सर्लाही, १० मंसिर । सर्लाहीका उखु किसानहरूले यस वर्षको क्रसिङ सिजनका लागि प्रतिक्विन्टल ७५० रुपैयाँ न्यूनतम समर्थन मूल्य (एमएसपी) तोक्न सरकारसमक्ष माग गरेका छन् ।

देशभर सबैभन्दा बढी उखु उत्पादन हुने सर्लाहीका किसानसहित विभिन्न जिल्लाका अगुवा कृषकहरूले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर मूल्य निर्धारणका सम्बन्धमा औपचारिक माग राखेका हुन् ।

गोडैता नगरपालिकाका मेयर देवेन्र्द्र यादवका अनुसार किसानहरूले सरकार, उद्योगी तथा किसानबीचको त्रिपक्षीय सहमतिअनुसार मूल्य निर्धारण हुनुपर्ने बताएका छन् ।

उनले दुई दिनअघि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुरका अगुवा उखु कृषकले संयुक्त बैठक बसेर प्रतिक्विन्टल ७५० रुपैयाँ मूल्य प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए ।

यससँगै किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकमसमेत तोकिएको समयमा भुक्तानी गर्न माग गरेका छन् । किसानका अनुसार प्रतिक्विन्टल ३५ रुपैयाँका दरले उपलब्ध हुने अनुदानमध्ये अझै धेरै किसानले रकम पाउन बाँकी छ ।

उक्त अनुदान मंसिर १३ गतेभित्र भुक्तानी नभए कठोर आन्दोलनमा उत्रने चेतावनी उखु उत्पादक महासंघ नेपाल सर्लाहीका अध्यक्ष श्यामबाबु रायले दिएका छन् ।

उनका अनुसार अनुदान रकम नआउँदा किसान आर्थिक रूपमा प्रभावित बनेका छन् र नयाँ सिजनका लागि आवश्यक लगानीमा समेत समस्या भइरहेको छ ।

रायले सरकारलाई निर्धारित म्यादभित्र अनुदान वितरण पूरा गर्न आग्रह गर्दै किसानको माग पूरा नभए आन्दोलन अपरिहार्य हुने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *