सर्लाही, १० मंसिर । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबिच एकल चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।
हाम्रो पार्टी नेपालले पनि आगामी आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदावरी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ ।
कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए । तर, निर्वाचन प्रयोजनका लागि उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् ।
उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने समझदारी बनेको उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ का लागि तोकिएको छ । आयोगले एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था गरेको छ । त्यसका लागि बेग्लै निवेदन दिनुपर्छ ।
