सर्लाही, २१ मंसिर । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थासहित बसपार्क स्थानान्तरण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापनलगायतका विषयमा सरोकारवालासहितको समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएको छ ।

आगामी २०८२ पुस १ गतेदेखि नयाँ बसपार्कबाट नियमित यातायात सेवा सुचारु गर्ने निर्णय गरिएको छ। यसका लागि सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा यातायात व्यवसायीबीच घनिष्ठ समन्वय गर्दै सहयोग पुर्‍याउने सहमति जुटाइएको छ ।
मलंगवा नगरपालिकाले म्याजिक, टेम्पुलगायत साना सवारी साधनहरू व्यवस्थित रूपमा चलाउने उपयुक्त स्थान तोक्ने तथा ट्राफिक प्रहरीको समन्वयमा रुट निर्धारण गर्ने निर्णय भएको छ ।

जिल्लाभर लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, स्थानीय तह र सुरक्षा निकायले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने र सरोकारवालाको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा बिना अनुमति ठूलो आवाजमा बजाइने डिजे तथा माइकले ध्वनि प्रदूषण नहुने गरी संचालन गर्न स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाजले आ–आफ्नो स्थानबाट पहल गर्ने निर्णय गरियो ।

जिल्लाभित्र देखिएका सबै भारतीय नम्बर प्लेटका सवारी साधनहरूको अभिलेखीकरण गर्ने र सवारीधनीहरूले आफ्नो सवारी साधनको विवरण प्रहरी प्रशासनलाई उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।

कृषि विकास बैंक मलंगवा शाखाले आफ्नो जग्गामा भवन निर्माणका लागि हालको बसपार्क रहेको स्थान खाली गराउन पत्राचार गरेकाले बैंकलाई भवन निर्माण कार्य अगाडि बढाउन सुझाव दिने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *