सर्लाही, २१ मंसिर । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोमा गस्तीमा खटिएको प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद गरेको छ ।
भारतको सोनवर्साबाट नेपालतर्फ प्रवेश गर्दै गरेको BR 30 Y 3287 नम्बरको भारतीय मोटरसाइकल चेकजाँचका क्रममा उक्त रकम फेला परेको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाइकल चालक भारत बिहार राज्य, जिल्ला सितामढी, ग्राम पंचायत सोनवर्सा–२ निवासी करिब २९ वर्षीय धर्मेन्द्र महतो हुन् ।
प्रहरी चेकजाँचका क्रममा महतोको साथबाट नेपाली रूपैयाँ १२ लाख २९ हजार स्रोत नखुलेको अवस्थामा भेटिएको हो ।
फेला परेको रकम रु १००० का ८१४ थान, रु ५०० का ६७१ थान, रु १०० का ७१२ थान, रु ५० का १६६ थान नोट रहेको खुलेको छ ।
स्रोत नखुलेको रकमसहित चालक महतोलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रहरी चौकीले जनाएको छ ।

