सर्लाही, २८ मंसिर । मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा वर्षौँदेखि अधुरा पुलका कारण स्थानीय बासिन्दाले दैनिक सास्ती खेप्दै आएका छन् ।

ठेक्का सम्झौता भएर पनि निर्माण अघि नबढ्दा महत्वपूर्ण पुलहरू अलपत्र परेका छन्, जसले जनजीवनमा गम्भीर असर पारेको छ ।

रौतहट र सर्लाही जोड्ने बागमती नदीमा निर्माण हुनुपर्ने दुई वटा पुल अझै पूरा हुन सकेका छैनन् । यी पुल निर्माण सम्पन्न नहुँदा यात्रुहरू जोखिम मोलेर अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् ।

यी पुल केवल दुई जिल्ला मात्रै नभई पर्सा, बारा र रौतहट हुँदै मधेश प्रदेशको राजधानी जनकपुर जोड्ने मुख्य मार्गसमेत हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गर्दै निर्माणको अवस्था बुझ्नु भएको छ ।

स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै पुल नहुँदा भोग्नुपरेको पीडाबारे जानकारी लिनुभएको मन्त्री घिसिङले जनताको दुःख देखेर आफू अत्यन्तै मर्माहित भएको बताउनु भयो ।

“म मन्त्री पदमा रहूँ वा नरहूँ, यी पुल निर्माणका विषयमा खबरदारी गरिरहन्छु,” उहाँले स्पष्ट पार्नुभयो । स्थानीयले पुल तुरुन्त निर्माण सम्पन्न गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदि (गंगा पिपरा) पुल ७ सय मिटर लामो छ । यसको निर्माणका लागि २०७३ असारमा ८६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पछिल्लो म्याद अनुसार २०८३ कात्तिक १३ भित्र पुल सम्पन्न गर्नुपर्ने छ ।

हालसम्म करिब ८० प्रतिशत काम भए पनि गत वर्षको बाढीले एक स्पान र फाउन्डेसन बगाएपछि काम प्रभावित बनेको छ । त्यस्तै, हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमती (बडरवा) पुलको अवस्था झनै दयनीय छ ।

२०६७ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको पुल साढे १२ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । पुरानो ठेक्का तोडेर २०७९ वैशाखमा नयाँ ठेक्का दिइए पनि हाल निर्माण प्रगति २० प्रतिशतमा सीमित छ ।

म्याद २०८३ चैतसम्म भए पनि निर्माण व्यवसायी काममा सक्रिय देखिएका छैनन् । यसैगरी, रौतहटको चपुर उत्तरतर्फ रहेको गैंडाटार चाँदी पुल पनि करिब १० वर्षदेखि अलपत्र अवस्थामा छ ।

मकवानपुरको बकैया गाउँपालिका हुँदै धरान चतरा हेटौंडा सडकसँग जोडिने यो पुल तीन पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन ।

निर्माण ढिलाइको विरोधमा स्थानीयले अनशनसहित विभिन्न आन्दोलनसमेत गरेका थिए। पुलको ठेक्का पप्पु शिवशंकर जेभीले पाएको थियो ।

अधुरा पुलका कारण विकासको मेरुदण्ड मानिने यातायात संरचना कमजोर बन्दै गएको भन्दै स्थानीयले अब कागजी प्रतिबद्धता होइन, व्यवहारिक काम चाहिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *