सर्लाही, ०६ पुष । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–११ गम्हरिया टोलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले बिकाउ राय यादवको घरमा गाँजा बिक्री भइरहेको सूचना पाएपछि घरमा पुगेर अनुसन्धान गरेको थियो ।
सो क्रममा घरधनी बिकाउ राय यादव रोजगारीको सिलसिलामा विदेश गएको खुलेपछि उनकी श्रीमती इन्दु देवीलाई फेला पारी खानतलासीका लागि सूचना पुर्जी प्रदान गरिएको थियो ।
स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा घर तथा गोठघरको खानतलासी गर्दा घरभित्र रहेको टिनको ड्रमभित्र दुईवटा कालो प्लास्टिकको पोका राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ २ किलो ५०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको प्रतिबन्धित लागुऔषधसहित इन्दु देवीलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
