सर्लाही, ०७ पुष । जिल्लामा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित प्रताटोल, हात्ति सुढे, १५ बिघा, ९ बिघा, मत्स्य दोभान शिरलगायत चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती नष्ट तथा फडानी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वमा तथा मातहतका ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएका प्रहरीसहित सशस्त्र प्रहरी सुरक्षा बेस हरिवन सर्लाहीको संयुक्त टोलीले उक्त क्षेत्रमा फडानी कार्य सुरु गरेको हो ।
अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट ९८ जना र सशस्त्र प्रहरीबाट ३० जना गरी जम्मा १२८ जनाको टोली परिचालित भएको थियो ।
संयुक्त टोलीले करिब ३५ बिघा क्षेत्रफलमा लगाइएको अनुमानित १ लाख ८० हजारभन्दा बढी अवैध गाँजाका बोट नष्ट तथा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषधको अवैध उत्पादन, बिक्री तथा वितरण नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिइनेछ । साथै अवैध गाँजा खेतीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने पनि प्रहरीले जनाएको छ ।
