सर्लाही, ०६ पुष । सर्लाहीको मलंगवामा अवस्थित ‘संस्कारसहितको शिक्षा हाम्रो प्रतिबद्धता’ नाराका साथ सञ्चालनमा रहेको राजदेवी बहुमुखी क्याम्पस र महासुनर सनराईज एकेडमीले विद्यार्थी स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार मलंगवा नगरपालिका–१० मा निर्माण सम्पन्न नवनिर्मित भवनमा आयोजित कार्यक्रममा क्याम्पसले बीबीएस प्रथम वर्ष तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

कार्यक्रम क्याम्पसका प्रधानाध्यापक तेजनारायण साहको अध्यक्षता तथा पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभास कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले राजदेवी बहुमुखी क्याम्पस र महासुनर सनराईज एकेडमीले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथि यादवले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले क्याम्पस तथा एकेडमीले अघि सारेका योजना तथा कार्यक्रमहरू प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता शैक्षिक संस्थाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज नारायण चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै नेपाल कर्मचारी परिषद् मधेश प्रदेशका अध्यक्ष रमेश यादव, पाठ्यपुस्तक व्यवसायी संघ सर्लाहीका अध्यक्ष रामविनय प्रसाद साह तथा विजडम कोचिङ मलंगवाका निर्देशक विरेन्द्र जयसवाललगायतले अतिथिका रूपमा सहभागिता जनाउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र प्रेरणा थप्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *