सर्लाही, ०६ पुष । वीरगञ्ज महानगरपालिका – ७ स्थित रेल्वे रोड हनुमान मन्दिर नजिकैको एक रक्सी पसलमा खाना पकाउने ग्याँस सिलिन्डर अचानक विस्फोट हुँदा भीषण आगलागी भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार रक्सी पसलभित्र खाना पकाउन प्रयोग गरिएको ग्याँस विस्फोट भएपछि ठूलो आवाजसहित आगो दन्किएको थियो । आगो तीव्र रूपमा फैलिँदा आसपासका लोहार पसल, घोडा बाँध्ने ठाउँ र अन्य अस्थायी संरचनाहरूमा पनि सल्किएको थियो ।

आगलागीको सूचना प्राप्त हुनासाथ वीरगञ्ज महानगरपालिकाको दमकल टोली दुई वटा दमकल, एउटा जेटिङ मेसिन र जेसीबीसहित घटनास्थलमा पुगेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब एक घण्टाभित्रै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । समयमै भएको प्रभावकारी कारबाहीले थप क्षति हुनबाट जोगिएको अधिकारीहरूले जनाएका छन् ।

पर्सा प्रहरीको विवरणअनुसार आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन । तर, करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । क्षतिग्रस्त भएकाहरूमा वीरगञ्ज–१६ नगवा बस्ने ४५ वर्षीय कसी मुखियाको रक्सी पसलका तीन वटा फ्रिज, फर्निचर, वासर तथा जस्तापाताले छाएको घर गरी ६ लाख रुपैयाँको सामान नष्ट भएको छ ।

त्यस्तै, भारतको रक्सौल बस्ने ४५ वर्षीय विनोद ठाकुरको सोही क्षेत्रमा सञ्चालित लोहार पसलमा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

यसबाहेक, नामथर र ठेगाना नखुलेको एक व्यक्तिको काठ, बाँस र जस्तापाताले बनेको अस्थायी घर पूर्ण रूपमा जल्दा २ लाख रुपैयाँको नोक्सानी भएको छ भने वीरगञ्ज–५ बस्ने सुरेश सिंह ठकुरीको एउटा घोडा र बाँस–जस्तापाताको संरचना जल्दा थप २ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको मुख्य स्रोत भट्टी र मासु पकाउने ठाउँमा रहेको ग्याँस सिलिन्डर भएको प्रारम्भिक अनुमान गरिएको भएपनि घटनाको सटीक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्थानीय प्रशासनले यस्ता दुर्घटना न्यूनीकरण गर्न ग्याँस सिलिन्डर प्रयोग गर्दा लिकेज जाँच, नियमित मर्मत र सुरक्षित भण्डारणमा विशेष सावधानी अपनाउन सबै व्यवसायी तथा नागरिकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *