सर्लाही, ०८ पुष । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

प्रत्यक्ष रूपमा कुनै पनि दलले चुनाव केन्द्रित गतिविधिहरू सञ्चालन नगरे पनि पार्टीगत स्तरबाट कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार र राजनीतिक भेटघाटलगायतका कार्यक्रमलाई सबैले तीव्रता दिएका छन् ।

यस सन्दर्भमा पर्सा जिल्लाको राजनीतिक दिशा तय गर्ने क्षेत्रको रूपमा हेरिने पर्सा–१ पनि चुनावी माहौल तातिन थालेको छ । राजनीतिक दलहरूले यस क्षेत्रलाई निकै महत्त्व साथ लिने भएको कारण पनि सबैको ध्यान यसतर्फ केन्द्रित हुन्छ ।

वीरगञ्ज महानगरपालिकाको १९ वटा वडा पर्ने पर्सा – १ मा प्रत्येक पटक झैँ यस पटक पनि कडा चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

केही राजनीतिक दल बाहेकले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि राजनीतिक वृत्तमा विभिन्न दलका चर्चित अनुहारहरू चुनावी प्रतिस्पर्धामा आउने अड्कलबाजी भइरहेको छ ।

जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ अनुहारहरू आउने सक्ने आशङ्काबिच पर्सा – १ मा पुरानो अनुहार नै दोहोरिने सम्भावना प्रबल रहेको छ ।

पर्सा – १ बाट पूर्व मन्त्री प्रदीप यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति हरि पन्त लगायतको नामको चर्चा छ ।

यस क्षेत्रबाट पछिल्लो दुई कार्यकालदेखि मधेस केन्द्रित दलबाट राजनीतिक गरिरहेका पूर्व मन्त्री प्रदीप यादव निर्वाचित हुँदै आएका छन् ।

यस पटक पनि उनको पार्टी जनता समाजवादी पार्टी (जसपा) को क्षेत्रीय भेलाले उम्मेदवारका रूपमा उनको एकल नाम सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *