सर्लाही, ११ पुष । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै अवरोध हटाउने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमैत्री वातावरण निर्माणका लागि सरकार सक्रिय रूपमा अघि बढ्ने बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भक्तपुरको गुन्डुस्थित निवासमा करिब दुई घण्टा भएको छलफलपछि मन्त्री खरेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन कुनै एक पक्षको विषय नभई राष्ट्रिय महत्त्वको कार्यक्रम भएको बताए ।
सरकारले आफूलाई स्थानहदमा सीमित राखेको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा उठाउँदै आएको प्रश्नबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा मन्त्री खरेलले निर्वाचनलाई उत्सवको रूपमा लिनुपर्ने धारणा राखे ।
उनले निर्वाचन सफल बनाउन केही चुनौती र जटिलता देखिए पनि ती सबै समाधान गर्दै सरकारले आवश्यक वातावरण तयार गर्ने स्पष्ट पारे।
उनका अनुसार लोकतान्त्रिक प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार जिम्मेवार ढंगले अघि बढ्नेछ र निर्वाचनको लक्ष्य प्राप्तिमा कुनै कसर बाँकी राखिनेछैन ।
