सर्लाही, ११ पुष । सायद तपाईं अहिले पनि आफ्नो स्कुल वा कलेज जीवनमा खोलेका जिमेल खाता नै प्रयोग गर्नुहुन्छ होला । उमेरको कुनै कालखण्डमा सिर्जना गरेको त्यो इमेलमा तपाईंले फरक खालको युजरनेम राख्नुभएको हुनसक्छ ।

त्यो जिमेल अकाउन्ट अहिले आफ्नो अफिसियल वा अन्य कार्यका लागि प्रयोग गर्नुपर्दा कहिलेकाहीँ त्यसको इमेल एड्रेस अर्थात युजरनेमका कारण निकै अप्ठेरो महसुस हुने गर्दछ ।

आफ्नो जीवनको हिस्सा बनिसकेको जिमेल एड्रेसलाई छाड्न पनि मन नलाग्ने तर त्यसको युजरनेमका कारण प्रयोग गर्न पनि नसक्ने द्विविधाग्रस्त अवस्थाबाट गुज्रिनुभएको हुनसक्छ । यदि त्यस्तो हो भने अब खुसीको खबर छ ।

गुगलले अब नयाँ जिमेल अकाउन्ट नबनाई आफ्नो पूरानो जिमेल एड्रेस परिवर्तन गर्न सकिने फिचर ल्याउने तयारी गरिरहेको छ । यो सुविधा आगामी वर्ष सन् २०२६ को अन्त्यसम्ममा विश्वव्यापी रूपमै उपलब्ध गराउने योजना गुगलको छ ।

अहिलेसम्म प्रयोगकर्ताको गुगल अकाउन्ट एउटा इमेल ठेगानासँग जोडिएको हुन्छ जसलाई परिवर्तन गर्न सकिँदैन । त्यसैले व्यवसायिक जीवनमा असहज लाग्ने नाम राखिएको मेल आइडी बदल्न चाहने प्रयोगकर्ताले अर्को छुट्टै नयाँ अकाउन्ट बनाउनुपर्ने बाध्यता थियो ।

जसका कारण आफ्नो पूरानो जिमेल अकाउन्टमा रहेका वर्षौंको इमेल, फाइल र अन्य महत्वपूर्ण डेटा पूरानै अकाउन्टमा छाड्नुपर्ने अवस्था थियो ।

प्रविधि समाचारसम्बन्धी वेबसाइट नाइन टू फाइभ गुगलले प्रकाशित गरेको रिपोर्टअनुसार गुगलले हालै आफ्नो सपोर्ट डकुमेन्ट अपडेट गरेको छ ।

उक्त डकुमेन्टमा प्रयोगकर्तालाई आफ्नो जिमेल एड्रेस परिवर्तन गर्न अनुमति दिने नयाँ प्रणालीको उल्लेख गरिएको छ । खुसीको कुरा त के भने यसरी जिमेल एड्रेस परिवर्तन गर्दा प्रयोगकर्ताको कुनै पनि पुरानो डाटा वा इमेल डिलिट हुने छैन ।

गुगलको सपोर्ट पेज अनुसार, यो फिचर लागू भएपछि प्रयोगकर्ताले आफ्नो विद्यमान गुगल अकाउन्टसँग जोडिएको जिमेल एड्रेसको युजरनेम बदल्न सक्नेछन् । जसअनुसार पुरानो इमेल एड्रेसले उपनामको रूपमा काम गर्नेछ । यसका कारण प्रयोगकर्ताले नयाँ र पुरानो दुवै एड्रेस प्रयोग गरेर अकाउन्टमा लग इन गर्न सक्नेछन् । साथै पुरानो एड्रेसमा आएका सबै इमेल सुरक्षित रूपमा प्राप्त हुनेछन् ।

तर, यो सुविधामा केही कडा सीमाहरू पनि तोकिएका छन् । प्रयोगकर्ताले १२ महिनामा एक पटक मात्र जिमेल एड्रेस परिवर्तन गर्न पाउनेछन् । जीवनभरमा अधिकतम तीन पटक मात्रै एड्रेस परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले यो सुविधा प्रयोग गर्दा सोचविचार गरेर मात्रै नयाँ युजरनेम छनोट गर्नुपर्नेछ।

हालसम्म यो फिचर सार्वजनिक रूपमा उपलब्ध भइसकेको छैन । तर गुगलका आधिकारिक सपोर्ट डकुमेन्टमा यसको उल्लेख हुनुबाट कम्पनी यसमा सक्रिय रूपमा काम गरिरहेको संकेत मिल्छ । प्रविधि विज्ञहरूका अनुसार यो सुविधा आगामी वर्षबाट चरणबद्ध रूपमा विश्वभर लागू हुन सक्नेछ।

यदि यो योजना कार्यान्वयनमा आयो भने वर्षौंदेखि आफ्नो पुरानो र अव्यवसायिक जिमेल एड्रेस प्रयोग गर्न बाध्य प्रयोगकर्ताका लागि यो ठूलो राहत हुने विश्वास गरिएको छ ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *