सर्लाही, २० पुष । सर्लाहीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित भारतीय नम्बरको कार नियन्त्रणमा लिएको छ ।
बलरा नगरपालिका–३ लक्ष्मीपुर गाउँ नजिक भारततर्फ जाँदै गरेको बीआर ३३ पीए ३७०१ नम्बरको कारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा रोकेपछि कारभित्र लुकाइ राखिएको गाँजा फेला परेको हो ।
आइतबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मलंगवाका डिएसपी लिलाबहादुर कार्कीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ चालकले कार भगाउन खोजेका थिए । सो क्रममा कार विजुलीको पोलमा ठोक्किएपछि चालक कार छाडेर सीमापारी भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारको सूक्ष्म जाँच गर्दा फल्स बटन बनाएर लुकाइ राखिएको अवस्थामा ८० किलो ९ सय ग्राम गाँजा बरामद भएको हो । बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर हाल सीमा सुरक्षा गुल्म मलंगवामा राखिएको छ ।
सशस्त्र प्रहरीले बरामद गाँजा सहितको कारलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ ।
यद्यपि, स्थानीयवासीहरू भने सर्लाहीको सीमावर्ती क्षेत्रबाट भारततर्फ लागुऔषध तस्करी नियमित रूपमा हुँदै आएको दाबी गर्छन् । उनीहरूका अनुसार कहिलेकाहीँ मात्रै तस्कर र सुरक्षाकर्मीबीच कुरा नमिल्दा यस्ता घटना सार्वजनिक हुने गरेका छन् । यस विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने आएको छैन ।
