सर्लाही, २५ पुष । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा परिवार नियोजन स्थायी बन्ध्याकरण (मिनिल्याप तथा भ्यासेक्टोमी) सम्बन्धी अप्रेसन घुम्ती शिविरको उद्घाटन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा, मलंगवा नगरपालिकाको सहकार्य तथा मेरी स्टोप्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा शुक्रबार बिहान शिविरको उद्घाटन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवलकिशोर झाको अध्यक्षता तथा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, प्रादेशिक अस्पताल मलंगवाका निमित्त प्रमुख डा. रामप्रकाश साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादव, मेरी स्टोप्सका डा. सुरेश साक्य, परिक्षा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले परिवार नियोजन सेवा सर्वसाधारणका लागि अत्यावश्यक भए पनि पछिल्लो समय बजेट कटौतीका कारण यस्ता कार्यक्रम सीमित हुँदै गएको बताउनुभयो ।

यद्यपि, मलंगवा नगरपालिकाले आगामी दिनमा पनि परिवार नियोजन कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवलकिशोर झाले चालु आर्थिक वर्षमा मात्र जिल्लामा करिब ८ सय जनाले परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा लिइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा करिब २ सय जनाले सेवा लिने अपेक्षा गरिएको छ । शिविरमा दक्ष तथा अनुभवी चिकित्सकद्वारा सुरक्षित रूपमा अप्रेसन गरिने जनाइएको छ ।

कार्यक्रमको सञ्चालन मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *