सर्लाह, २५ पुष ।उद्योग वाणिज्य संघ सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा रहेको करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने तयारी भएको जानकारी पाएपछि गम्भीर ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अनुसार मलंगवास्थित करदाता सेवा कार्यालयमार्फत सर्लाही जिल्लाका करिब २० हजार उद्योगी–व्यापारीले नियमित रूपमा राज्यलाई कर तिर्दै आएका छन् ।
यस्तो महत्वपूर्ण सेवा केन्द्र अन्यत्र सारिँदा वा बन्द हुँदा जिल्लाका उद्योगी तथा व्यापारीहरूको हकहितमा प्रत्यक्ष असर पर्ने र ठूलो दुःख तथा पीडाको अवस्था सिर्जना हुने संघले जनाएको छ ।

ज्ञापनपत्रमा संघले उक्त कार्यालयलाई तत्काल यथास्थानमै कायम राख्न (यथाशीघ्र थमौती गर्न) तथा सर्लाहीमै आन्तरिक राजस्व कार्यालय स्थापना गर्न जोडदार माग गरेको छ । साथै, मलंगवा नगरपालिका भित्रै करदाता सेवा कार्यालयको नाममा पाँच कठाभन्दा बढी जग्गा उपलब्ध रहेको र सो जग्गामा भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट बजेटसमेत आइसकेको उल्लेख गरिएको छ ।
संघले कार्यालय स्थापना कालदेखि नै जिल्लाभरिका व्यापारीहरूले धेरै प्रयास र दौडधुप गरेर ल्याएको यो सेवा केन्द्र अन्यत्र सारिए वा बन्द भएमा सेवा ग्राही व्यापारीहरूको हकहित गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिएको छ ।
माग सुनुवाइ नभए आवश्यक परे आन्दोलनमा जान बाध्य हुने बताउँदै संघले उक्त निर्णय तत्काल रोक्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

