सर्लाही, २८ पुष । ट्राफिक नियम उल्लङ्घनपछि जरिवाना तिरेको देखाउन नक्कली पुर्जी प्रयोग गरेको आरोपमा सर्लाहीका दुई जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
राजमार्ग क्षेत्रमा यस किसिमको नक्कली ट्राफिक रसिद प्रयोग भएको घटना सम्भवतः पहिलोपटक सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
गत पुस २६ गते साँझ करिब ७ः३० बजे रौतहटको बागमतीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा गरिएको संयुक्त सवारी चेकजाँचका क्रममा बा.प्र.०१–०२६ च ४८१७ नम्बरको बोलेरो गाडी शंकास्पद देखिएपछि रोक्ने क्रममा उक्त घटना घटेको हो ।
चेकजाँचका बेला चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट जारी भएको दाबी गर्दै २४ घण्टे जरिवाना पुर्जी देखाएका थिए । तर प्रारम्भिक अनुसन्धानमा उक्त पुर्जी फोटोसप प्रयोग गरी किर्ते बनाइएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
त्यसपछि बोलेरो चालक सर्लाहीको बरहथवा नगरपालिका–४ का २७ वर्षीय दिलीप महतो र वडा नम्बर–१० का ३२ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले हाल उनीहरूको म्याद थप हुन सकेको छैन ।
प्रारम्भिक बयानका क्रममा उनीहरूले ओभरलोड सवारी चलाएको विषयमा जरिवाना तिरेको जस्तो देखाउन नक्कली पुर्जी ट्राफिक प्रहरीलाई देखाएको खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले नक्कली पुर्जीमा उल्लेख गरिएको ट्राफिक प्रहरी कर्मचारी तीन महिनाअघि नै सो स्थानबाट सरुवा भइसकेको जानकारी दिएका छन् ।
घटनालाई गम्भीर अपराधका रूपमा लिँदै प्रहरीले दुवैजनाविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
