सर्लाही, २९ पुष । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ ।
धनकौल गाउँपालिका २ का किसान रामकल्याण यादवले साेमबार दिउँसो १२ बजेदेखि उद्योगले उखु क्रसिङ सुरु गरेको जानकारी दिए ।
सर्लाहीमा पूर्वपश्चिम राजमार्गस्थित इन्दुशंकर चिनी उद्योग हरिवन र सीमावर्ती क्षेत्रमा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले पुस पहिलो सातादेखि नै उखु क्रसिङ गरिरहेका छन् ।
जिल्लाका अन्य दुईवटा चिनी उद्योग संचालनमा आएको तीन सातापछि अन्नपूर्ण चिनी उद्योग संचालनमा आएको हो । अन्य चिनी उद्योगको तुलनामा अन्नपूर्ण चिनी उद्योग किसानलाई बेलैमा भुक्तानी नदिएर बद्नाम समेत भइरहेको छ ।
उद्योगले धेरै वर्षअघि देखिको भुक्तानी नदिएको भन्दै केही महिनाअघि किसानले उद्योगको मुलगेटमा धर्ना दिएका थिए । अघिल्लो मालिकदेखिको पैस नपाएपछि किसान असन्तुष्ट छन् ।
उद्योगका संचालक शैलेन्द्रप्रसाद गुप्ताले उद्योग संचालन हुँदै जाने र किसानको भुक्तानी पनि दिँदै जाने सहमतिमा मिल संचालन गरिएको बताए । स्थानीय किसानले समेत चिनी मिलले बेलैमा भुक्तानी दिने सहमति गरेकाले उखु बिक्री गर्न सुरु गरिएको बताएका छन् ।
