सर्लाही, ०५ माघ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

मलंगवामा निर्वाचन आचारसंहिताको सम्वन्धमा आज दिउँसो जिल्लाका संचारकर्मीसँग अन्तरक्रिया गर्दै मुख्य निर्वाचन अधिकृत थपलियाले निर्वाचनलाई निष्पक्ष बनाउन क्रियाशील रहेको उल्लेख गरेका हुन् ।

उनले निर्वाचलाई निष्पक्ष बनाउन सबै पक्षबाट खबरदारी र चासो व्यक्त भइरहनुपर्ने बताएका छन् ।

सर्लाही क्षेत्र नं. २ का निर्वाचन अधिकृतसमेत रहेका मुख्य निर्वाचन अधिकृत थपलियाले सबै दल र उम्मेदवारलाई एकरुप किसिमले समान व्यवहार गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका हुन् ।

संचारकर्मीअघि निर्वाचन आयोगमा दर्ता भइ जिल्लामा क्रियाशील रहेका राजनीतिक दलसँग छलफल गरी आचारसंहिताको पूर्णरुपमा पालना गरी निर्वाचनलाई स्वच्छ बनाउन सहयोग गरिदिन अपिल गरिएको मुख्य निर्वाचन अधिकृत थपलियाले बताए ।

यस्तै अन्तरक्रियामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले निर्वाचनलाई शान्तपूर्ण बनाउन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

उनले निर्वाचनलाई प्रभाव पार्ने कुनै गतिविधि भएमा तुरुन्त सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराइदिन संचारकर्मीमार्फत स्थानीयसँग आग्रह गरेका छन् ।

त्यसैगरी अन्तरक्रियामा सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काले निर्वाचनका सम्वन्धमा सामाजिक संजालको दुरुपयोग गरी मिथ्या र भ्रामक सूचना फैलाउनेहरुलाई तत्कालै पहिचान गरी कानूनी कारवाही गर्न प्रहरीले बेग्लै शाखा खडा गरेको सुनाए ।

अन्तरक्रियामा जिल्लाका संचारकर्मीले मतदान र मतगणनाको समयमा सहज ढंगले समाचार संकलन गर्ने वातावरण मिलाइदिन निर्वाचन अधिकृत तथा सुरक्षा अधिकारीहरुसँग आग्रह गरेका छन् ।

अन्तरक्रियामा सर्लाहीको क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत नवराज आचार्य, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरे, सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, महासंघका पूर्व अध्यक्षहरु टंकबहादुर क्षेत्री, विश्वनाथ ठाकुरसहित जिल्लामा क्रियाशील संचारकर्मीहरुले मन्तव्य व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *