सर्लाही, १४ माघ । सर्लाही सदरमुकाम मलंगवामा दादुरा महामारीबाट प्रभावित विशेष खोप कार्यक्रम सुरु गरिएको छ ।

मलंगवा नगरपालिका वडा नं. २, ३, ४, ८, ९ र १० मा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । मलंगवा नगरपालिका–३ मा दादुरा सङ्क्रमण फैलिएपछि विशेष खोप कार्यक्रम सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले मलङ्गवा नगरपालिका ३ मा २३ जनामा दादुरा देखा परेको जानकारी दिए ।

ल्याब परीक्षण गर्दा सात जनामा दादुराको सङ्क्रमण पुष्टी भएको छ भने १६ जनामा सङ्क्रमितकै झैँ लक्षण देखा परेको स्वास्थ्य कार्यालयका प्रमुख डा. झाले बताए ।

विश्व स्वास्थ्य सङ्गठन, यूनिसेफ, मधेश प्रदेश जनस्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, मलङ्गवा नगरपालिकालगायतका निकायले समन्वय गरी सोमबार बिहानैदेखि विशेष खोप कार्यक्रम सुरु गरेका हुन् ।

माघ १६ गतेसम्म मलंगवाका ६ वटा वडाका करिव आठ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

विभिन्न निकायबाट प्राविधिक सहयोग लिएर नगरपालिकाका स्वास्थ्यकर्मीले छवटा वडाका विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरेको मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णुकान्त साहले बताए । उनअनुसार स्वास्थ्य कार्यालयसँग मौज्दात रहेको खोप नै बालबालिकाहरुलाई लगाउन लागिएको हो ।

यसअघि दादुरा–रुबेलाविरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि अहिले विशेष खोप कार्यक्रमको बेला खोप लगाइने स्वास्थ्य शाखा प्रमुख साहले बताए ।

नेपालमा उन्मुलन भइसकेको घोषणा गरिएको दादुरा देखा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रत्येक निकायले चासो देखाएर मलंगवामा विशेष खोप कार्यक्रम सञ्चालन गरेको हो ।

सोमबार बिहान विशेष खोप कार्यक्रमको निरीक्षण गर्दै मधेश सरकारका स्वास्थ्य मन्त्री जङ्गीलाल रायले विशेष खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सम्वद्ध स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

चिकित्सकका अनुसार निकै सङ्क्रामक मानिने दादुरा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्छ ।

दादुरा लागेको व्यक्तिमा सुरुमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने,

तीनदेखि पाँच दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा आउनेलगायत लक्षण हुने चिकित्सकले बताएका छन् । दादुराबाट एक जना सङ्क्रमित भए, उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ ।

श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ गर्दा, खोक्दा, सङ्क्रमित व्यक्तिले नाक–मुख छोएर हात नधुँदा सजिलै सर्न सक्छ । प्रायःजसो बच्चालाई धेरै हुने दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ ।

दादुराबाट बच्न बच्चालाई नौ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरिन्छ । खोप लगाउन छुटेका बच्चालाई यो रोग लाग्ने जोखिम बढी हुने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *