सर्लाही, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय जनावर गाईको विषयमा आफ्नो भनाइ तोडफोड गरेर प्रचार गरिएको बताएका छन् । आफूले सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्ने भन्दै धार्मिक आस्थामा पर्न गएको भ्रमप्रति क्षमा मागेका छन् ।
उनले भनेका छन्– ‘मेरै मुखबाट हो कि हो भनी नभएको विषय ओकल्न लगाई सामाजिक सद्भाव भड्काउने प्रयास गरिएकोप्रति सचेत रहँदै, यसबाट समाज र धार्मिक आस्थावान सबैमा पर्न गएको गलत भ्रम प्रति क्षमाप्रार्थी छु ! नगरेकै गल्तीको लागि माफी चाहन्छु !’
यस्तो छ उनको प्रष्टीकरण–
म सदगुरु ओशोको शिष्य हूँ ! शाकाहारी हुँ ! कुनै पशुपंक्षी हत्याको पक्षमा छैन ! सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु, मैले यस अघि नै भनिसकेको छु ! नेपाल हाम्रो हो ! धर्म हाम्रो पनि हो ! राष्ट्र र राष्ट्रियता प्रति हामी प्रतिबद्ध छौं ! तर पछिल्लो समय राष्ट्रिय जनावर गाईलाई लिएर सामाजिक सञ्जालमा नगरेको कर्म र बिषय तोडमोड गरी प्रचार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ! मेरै मुखबाट हो कि हो भनी नभएको विषय ओकल्न लगाई सामाजिक सदभाव भड्काउने प्रयास गरिएको प्रति सचेत रहँदै, यसबाट समाज र धार्मिक आस्थावान सबैमा पर्न गएको गलत भ्रम प्रति क्षमाप्रार्थी छु ! नगरेकै गल्तीको लागि माफी चाहन्छु ! हामी झुक्दा समाज उठ्छ भने समाजकै सचेत नागरिक हुनुको नाताले म झुक्न तयार छु !
