सर्लाही, १५ माघ । गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्रकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) हाजिर नआएसम्म आफू कार्यालयमा उपस्थित नहुने घोषणा गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरप्रमुख यादवले यस्तो निर्णय लिएका हुन् ।

नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८२ कात्तिक २६ गतेको निर्णयअनुसार गोडैता नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव मंसिर २४ गतेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सरुवा भई रमाना समेत गरिसकेका छन् ।

त्यसपछि मन्त्रालयले २०८२ पुस १४ गते उपसचिव हेमबहादुर कार्कीलाई गोडैता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको भए पनि उनी हालसम्म हाजिर हुन नआएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख यादवका अनुसार आफू तीन पटकसम्म काठमाडौं पुगेर मन्त्रालयमा प्रत्यक्ष रूपमा ताकेता गरे पनि ‘छिट्टै पठाइदिने’ आश्वासन मात्र पाइयो, तर हालसम्म कुनै प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको दैनिक सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको नगरप्रमुख यादवले बताएका छन् ।

उनका अनुसार कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको तलब–भत्ता, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण, विद्यालय तथा स्वास्थ्य संस्था (बर्थिङ सेन्टर) सञ्चालन, विकास निर्माणका काम लगायत अत्यावश्यक सेवाहरू ठप्प हुने अवस्था आएको छ । साथै विद्यालयहरूमा स्यानिटरी प्याडको अभाव र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधिको कमी समेत देखिएको उनले बताए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको सन्दर्भमा समेत नगरपालिकाका अत्यावश्यक प्रशासनिक तथा सेवा प्रवाहका काम प्रभावित हुने अवस्था आएको उल्लेख गर्दै नगरप्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत हाजिर नआउञ्जेल २०८२ माघ १४ गतेदेखि आफू कार्यालयमा उपस्थित नहुने निर्णय लिएको जानकारी दिएका छन् ।

नगरप्रमुख यादवले यस असहज परिस्थितिबाट उत्पन्न हुने सेवा अवरोध र त्यसको सम्पूर्ण जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वयं जिम्मेवार हुने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *