सर्लाही, १९ माघ ।  राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण प्रक्रियामा सरकारको निर्णय क्षमता कमजोर देखिँदा आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने देखिएको छ । साढे आठ वर्ष भइसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा मात्र सीमित भएको छ ।

२०८२/८३ को पुस मसान्तसम्म ४५.१५ प्रतिशत भौतिक र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ । अघिल्लो वर्ष २०८१/८२ को पुस मसान्तसम्म ३७.६० भौतिक प्रगति र ३९.५६ प्रतिशत वित्तीय प्रगति थियो, यसअनुसार यो एक वर्षको अवधिमा ७.५५ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ साउन २७ गते ४ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनालाई औपचारिक रूपमा निर्माणको जिम्मा दिएको थियो । तर सो अवधिमा सम्पन्न हुन नसकेपछि पहिलो पटक २०८० सम्मका लागि म्याद थप भयो । उक्त अवधिमा पनि निर्माण हुन नसकेपछि दोस्रो पटक म्याद थप गरेर २०८३ चैत मसान्तसम्म निर्माण सक्ने लक्ष्य राखिएको छ । हालसम्मको भौतिक प्रगति हेर्दा उक्त म्यादमा पनि निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ ।

यसरी निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्दै जाँदा राज्यलाई भार थपिँदै गएको छ । सुरुको लागतअनुसार १ खर्ब ७५ अर्ब १९ करोडमा यो आयोजना बन्नुपर्ने हो । तर तोकिएको समयमा नबने पछि दोस्रो म्याद थप्दा २०.९५ प्रतिशतले लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ । यसमध्ये हालसम्म ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ ।

आयोजनाअन्तर्गत पर्ने ७ वटा सुरुङमार्गको कुल लम्बाइ १० हजार ९७९ किलोमिटर छ । यसमध्ये महादेवटार सुरुङ ३ हजार ३५५ मिटर छ, जसको दायाँ ३ हजार ३२२ मिटर रहेको छ भने बायाँ सुरुङ ३ हजार ३८६ मिटर छ । यसमध्ये दायाँ सुरुङ २ हजार ११९ मिटर अर्थात् ६४ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यस्तै बायाँ २ हजार ५०० मिटर अर्थात् ७४ प्रतिशत खन्ने काम सकिएको छ ।

कुन सुरुङको प्रगति कति ?

यस आयोजनाअन्तर्गत पर्ने ७ वटा सुरुङमार्गको कुल लम्बाइ १० हजार ९७९ किलोमिटर छ । यसमध्ये महादेवटार सुरुङ ३ हजार ३५५ मिटर छ, जसको दायाँ ३ हजार ३२२ मिटर रहेको छ भने बायाँ सुरुङ ३ हजार ३८६ मिटर छ । यसमध्ये दायाँ सुरुङ २ हजार ११९ मिटर अर्थात् ६४ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यस्तै बायाँ २ हजार ५०० मिटर अर्थात् ७४ प्रतिशत खन्ने काम सकिएको छ ।

दोस्रो धेद्रे सुरुङ १ हजार ६९० मिटर लम्बाइ छ, यसको दायाँ १ हजार ६५३ र बायाँ १ हजार ७२८ मिटरको रहेको छ । यो सुरुङ ब्रेक थ्रु भएको छ । यसैगरी तेस्रो लेनडाँडा सुरुङको लम्बाइ १ हजार ६२२ मिटर छ, यसको दायाँ १ हजार ६१२ मिटर र बायाँ १ हजार ६३३ मिटर रहेको दुवै ब्रेक थ्रु भएको छ ।

यस्तै चन्द्राम भीर सुरुङ जसको दायाँ टनेल २ हजार २६१ मिटर रहेकोमा २८७ मिटर खन्ने कार्य सम्पन्न भएको छ भने बायाँ टनेल २२१३ मिटर रहेकोमा ३७५ मिटर खन्ने कार्य सम्पन्न भएको जनाएको छ । देवीचौर सुरुङ ११०० मिटर रहेको दायाँ टनेलको भर्खर पोर्टल खान्ने कार्य भएको छ भने १०७५ मिटर रहेको बायाँ टनेल ८ मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

यसैगरी सिसौटार सुरुङको दायाँ टनेल कुल ४८० मिटरमध्ये ७ मिटर खन्ने कार्य सम्पन्न भएको छ भने ५६० मिटरको बाँया टनेल पोर्टल खन्ने कार्य जारी छ । मौरी भीर सुरुङ दायाँ टनेल ५३५ मिटर र बायाँ टनेल ६६३ मिटर लम्बाइ रहेकोमा दुवैको पोर्टलको कार्य भइरहेको सेनाले जनाएको छ ।

पुल र सडक निर्माण कति पुग्यो ?

यस आयोजनाअन्तर्गत ८९ वटामध्ये ८५ वटा पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छ । बाँकी ४ स्थानका पुलको जग्गा अधिग्रहणसम्बन्धी समस्या छ । यस्तै निर्माणाधीन पुलमध्ये ५४ वटा पुको फाउन्डेसन र ३४ वटा स्थानका पुलको सब स्ट्रक्चर निर्माण सम्पन्न भएको छ । हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुलहरूको निर्माण सम्पन्न भएको जनाएको छ ।

अन्य आयोजनाको प्रगति के छ ?

सेनाले फास्ट ट्र्याकबाहेक अन्य रणनैतिक सडक विस्तार तथा निर्माण गरिरहेको छ । जसमध्ये कर्णाली करिडोर (लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउं–भुक्काखोला खण्ड) सडक आयोजना ९२२.०५ किलोमिटर  हो । यसमध्ये आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल १६ किलोमिटर  नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.४४० किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र ०.२४० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल १६.२४ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ ।

बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना ९२ किलोमिटरमध्ये गत आव २०८१/८२ को अन्त्यसम्म कुल ४० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.४०० किलोमिटर ट्रयाक स्तरोन्नति र ०.८०० किलोमिटर  नयाँ ट्रयाक निर्माण भई कुल ४०.८ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ ।

उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका (च्याम्ताङ्ग–घोङघप्पा खण्ड) सडक आयोजना (१०.५१ किलोमिटर) गत आव २०८१/८२ को अन्त्यसम्म कुल १०.५१ किलोमिटर  नयाँ ट्रयाक निर्माण ब्रेक थु भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप २.७ किलोमिटर ट्रयाक  र बाँकी १.६१ किलोमिटरसहित कुल ४.३१ किलोमिटर स्तरोन्नतिको कार्य गरी चैत्र मसान्तसम्म नेपाली सेनालाई प्राप्त जिम्मेवारी (१०.५१ किलोमिटर) सम्पन्न गरिने जनाएको छ ।

यस्तै दार्चुला–टिंकर सडक आयोजना (७९ किलोमिटर) गत आव २०८१/८२ को अन्त्यसम्म कुल १७.५ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.५९० किलोमिटर ट्रयाक स्तरोन्नतिको र ०.९९० किलोमिटर नयाँ ट्रयाक निर्माण भई कुल १८.४९ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *