सर्लाही, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाद्वारा विद्यार्थीहरुका लागि सञ्चालित राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो भूमिका खेलेको बताएकी छन् ।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित सेनाको मध्य तालिम शिक्षालयमा दिक्षित भएका विद्यार्थीहरुको समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

देशको सुरक्षाका लागि अनुशासनको महत्त्वपूर्ण भूमिका हुने उनले चर्चा गरिन् । देशमा सेवा भावको भूमिकाका लागि सेनाले विद्यार्थीहरुलाई दिएको राष्ट्रिय सेवा दलको तालिम महत्त्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । अन्य विपदसँगै राष्ट्रिय सुरक्षामा राष्ट्रिय सेवा दलबाट दिक्षित विद्यार्थीको भूमिका अहम रहेको उनले सुनाइन् ।

देशभरीका १८ विद्यालयका ५ सय ३० विद्यार्थीहरुले एक सय दिनको तालिम सकेर मंगलबार दिक्षान्त समारोहमा भाग लिएका थिए ।

नेपाली सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवादलको तालिमको समापन कार्यक्रम यहाँ भएको हो । सेनाले विद्यार्थीहरुलाई राष्ट्र प्रेम, विपतमा जुट्ने तालिम र शारिरिक सुगठन सम्बन्धी तालिम दिँदै आएको छ ।

हात्तिखोरस्थित सैनिक ब्यारेकमा आयोजित विद्यार्थीहरुको कवज, परेड र खेलकुद अवलोकन गरेकी थिइन् । त्यस अवसरमा तालिम अवधिमा उत्कृष्ट भएका विद्यार्थी र सेनालाई शिल्ड , दर्ज्यानी चिन्ह र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

हेलिकप्टरमा हात्तिखोरस्थित नेपाली सेनाको तालिम केन्द्रमा आएकी प्रधानमन्त्री कार्यक्रम सकेर काठमाडौं फर्किएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *