सर्लाही, २३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पोखरा पुगेका थापाले संगठनको तागतले मज्जाले बहुमत ल्याउन सकिने भन्दै घरघर जान आग्रह गरे ।

उनले भने, ‘यो १६५ निर्वाचन क्षेत्रमा चुनाव लडेको नेपालको आजको एउटा मात्र पार्टी हो । कुनै अर्को पार्टी छैन, कांग्रेसको कुनै कार्यकर्ताले रुख चिन्हभन्दा बाहेक अन्त कतै पनि मत राख्न पाइँदैन ।

बन्द कोठाभित्र गएर कहीँ खासखुस गर्दैन । यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य हुँदैन । अब की बार यो सरकार भन्ने नारा लाउन छोडिदिनुस् ।

अब की बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ ।’

कांग्रेस १० लाख क्रियाशील सदस्य भएको पार्टी भन्दै उनले भने, ‘हिजो कांग्रेस पार्टी छोडेर जानुभएको साथीहरू, कुनै न कुनै कारणले जानुभएको छ, चित्त दुखाएर जानुभएको छ, मन दुखाएर जानुभएको छ ।

ती सबै साथीहरूलाई हृदय खुल्ला राखेर अब हामीले स्वागत गर्नुपर्ने छ । सबै साथीहरूलाई घर फर्क भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ यो भनेर तपाईँहरूले फिर्ता बोलाउनु पर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *