सर्लाही, २६ माघ । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को असई भएको बताउँदै सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका–६ घर भई हाल कबिलासी नगरपालिका–१० सलेमपुर टोल बस्दै आएकी अन्दाजी ३५ वर्षीया निर्मला महतो रहेको प्रहरीले जनाएको छ ।
उनले नेहा, निशा र पुनम कुमारीलगायत विभिन्न नाम प्रयोग गर्ने गरेको खुल्न आएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार आरोपीले आफू CIB मा कार्यरत प्रहरी असई भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी नगद तथा सामान ठगी गर्ने गरेको पाइएको छ ।
गाडी निकालिदिने भन्दै डेढ लाख ठगी
सर्लाही लालबन्दीका राजेश्वर साहसँग करिब एक वर्षअघि नवलपुर बजारमा चिनजान भएपछि आरोपीले आफू भन्सारका कर्मचारीसँग राम्रो सम्बन्ध भएको बताउँदै सस्तोमा स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ ।
पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले राजेश्वरकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटो मागी लिएको र भन्सार कर तिर्नु पर्ने बहानामा पटक–पटक गरी रु. १ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपीले सोही नागरिकता र फोटो प्रयोग गरी आफू पुनम कुमारी नै भएको भनी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन् ।
त्यसै आधारमा माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा खाता समेत खोलेको अनुसन्धानमा खुलेको छ ।
सुनचाँदी, नगद सापटी र चेक ठगी
आरोपीले आफू प्रहरी भएको प्रभाव देखाउँदै चन्द्रपुरका सन्तोष बहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा लिएको सुनचाँदीका गहनाको रु २ लाख ७४ हजार भुक्तानी नगरेको आरोप छ।
त्यस्तै गुजरा निवासी विजय साह बनियासँग घरायसी समस्या देखाएर रु ५ लाख सापटी लिएको र चन्द्रपुरका प्रविण साहको किराना पसलबाट उधारो सामान लिई तथा स्कारपियो गाडी भाडामा लगेर बाँकी रहेको रु. १ लाख २६ हजारसमेत नतिरेको प्रहरीले जनाएको छ ।
ती सबै रकम तिर्ने भन्दै आरोपीले पुनम कुमारीको नाममा खोलेको खाताको चेक दिए पनि खातामा पर्याप्त मौज्दात नरहेको खुलेको छ ।
चेकमा पुनम कुमारीको हस्ताक्षर गरी ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउपछि मात्र खुल्यो वास्तविक पहिचान
आरोपीलाई मिति २०८२ माघ ४ गते दिउँसो चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेपछि उनले लामो समयसम्म आफ्नो वास्तविक नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङका अनुसार विभिन्न नाममा बनेका परिचयपत्र, बैंक खाता र कागजातको वास्तविकता पत्ता लगाएपछि मात्र आरोपीलाई सार्वजनिक गरिएको हो ।
उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
