सर्लाही, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म २ हजार ५२५ उजुरी दर्ता भएको छ । आयोगका अनुसार, तीमध्ये ८१२ उजुरी फर्छ्यौट भइसकेका छन् भने १ हजार ७१३ उजुरी हाल छानबिनको प्रक्रियामा रहेका छन् ।

आयोगले ३५ औँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजना गरेको कार्यक्रममार्फत सार्वजनिक तथ्यांक अनुसार, दर्ता भएका उजुरीमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

जिल्लागत विवरणअनुसार धनुषामा सबैभन्दा बढी ७८० उजुरी दर्ता भएका छन् । त्यसपछि क्रमशः महोत्तरी ५१४, सिराहा ४८१, सर्लाही ३९७ र सबैभन्दा कम सोलुखुम्बु ३९ उजुरी रहेका छन् ।

आयोगले उजुरीहरूको व्यवस्थापनका लागि स्क्रिनिङ, प्रारम्भिक तथा विस्तृत छानबिन गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ६०५ उजुरी तामेली गरिएको, १० उजुरी सुझावसहित तामेली, ७९ उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ११८ उजुरी एकीकरण गरिएको पनि आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *