सर्लाही, २८ माघ । बलिउड अभिनेता रणवीर सिंहलाई व्हाट्सएपमार्फत करोडौँ रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण भ्वाइस नोट पठाइएको घटनापछि मुम्बई प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ । प्रहरीले मंगलबार घटनाको पुष्टि गर्दै सुरक्षा निकायलाई सतर्क बनाइएको जनाएको छ ।
ब्लकबस्टर फिल्म ‘धुरन्धर’बाट यतिबेला चर्चामा रहेका ४० वर्षीय अभिनेता रणवीरको घर वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । धम्की सन्देश प्राप्त भएपछि प्रहरीले साइबर सेल र अपराध अनुसन्धान शाखालाई परिचालन गरेको जनाएको छ ।
यो घटना निर्देशक रोहित शेट्टीको जुहुस्थित निवासमा भएको गोलीकाण्डको केही दिनपछि सार्वजनिक भएको हो। फेब्रुअरी १ तारिख राति करिब १२:५ बजे शेट्टीको नौ तले भवनको पहिलो तलामा कम्तीमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो । तीमध्ये एक गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा पाँच जना पक्राउ परिसकेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दुवै घटनामा लरेन्स बिश्नोई गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेकाहरू फरार रहेका गिरोहका सदस्य शुभम लोणकरको निर्देशनमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ ।
लोणकर एनसीपी नेता बाबा सिद्दिकीको हत्या तथा अभिनेता सलमान खानको बान्द्रास्थित घर बाहिर भएको गोली प्रहार घटनामा पनि वाञ्छित रहेको बताइएको छ ।
यसअघि पनि बिश्नोई गिरोहले सलमान खान र कपिल शर्मालगायत केही सेलिब्रेटीलाई धम्की दिएको विवरण सार्वजनिक हुँदै आएका छन् । एक घटनामा सलमानका पिता सलीम खान बिहान हिँड्न जाँदा धम्कीपत्र राखिएको समेत उल्लेख गरिएको थियो।
पछिल्लो घटनाले बलिउड क्षेत्रमा कलाकारहरूको सुरक्षाबारे फेरि बहस सुरु गराएको छ। प्रहरीले सबै कोणबाट अनुसन्धान भइरहेको र संलग्नमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ ।
