सर्लाही, ०२ फागुन । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३ हजार ७०० कर्मचारी परिचालन हुने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ जना कर्मचारी खटिने भएका हुन् । निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइसकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार निर्वाचनमा संघीय, प्रदेश र स्थानीय तह तथा संस्थानमा कार्यरत कर्मचारी र शिक्षकलाई परिचालन गरिने छ । सर्लाहीमा रहेका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटिने भए पनि जिल्ला निर्वाचन कार्यालयले भने सात हजार बढी कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बुझाएको छ ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त नामावलीबाट कर्मचारी छनौट गरी प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने बताए ।
निर्वाचन अधिकृतको कार्यालयहरुले कुन मतदान केन्द्रमा कुन कर्मचारीलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य तीन जना कर्मचारी चयन गरेर पठाउने भन्ने निर्णय गर्ने मुख्य निर्वाचन अधिकृत थपलियाको भनाइ छ ।
मतदातालाई मसीलगाउनेसहित अन्य काममा सहयोग गर्न मतदान अधिकृतले मतदान केन्द्रमा पुगेपछि दुई जना स्थानीय कर्मचारीसमेत नियुक्त गर्न पाउने छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तपूर्वक सम्पन्न गराउन मतदान केन्द्रमा आवश्यक सङ्ख्यामा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने छन् ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार मतदानको दिन नजिकिँदै जाँदा अब निर्वाचन आयोगबाट प्राप्त हुन बाँकी मतपत्रसहितका निर्वाचन सामग्री धमाधम आउन थाल्ने छ ।
