सर्लाहीमा आज देखि फागुन २२ सम्म विदेशी नम्बर प्लेटका सवारी सञ्चालनमा रोक

Byसदाम हुसैन

२०८२ फाल्गुन १५, शुक्रवार २०८२ फाल्गुन १५, शुक्रवार २०८२ फाल्गुन १५, शुक्रवार
एआईबाट तयार गरिएको साङ्केतिक फोटो ।

सर्लाही, १५ फागुन । सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ ।

होली पर्वसमेत नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारीले विभिन्न प्रतिबन्धात्मक आदेश जारी गरेका हुन् ।

जारी सूचनाअनुसार मिति २०८२ फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

आदेश उल्लंघन गरी सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले निर्वाचन अवधिभर ती सवारी साधन नियन्त्रणमा लिने जनाइएको छ । त्यसैगरी मौन अवधिभर, अर्थात् फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको छ ।

डिजे बाजासमेत पूर्णरूपमा बन्द गर्ने आदेश जारी गरिएको छ । उल्लंघन गरेमा आवश्यक कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

होली पर्वको नाममा कसैको इच्छा विपरीत रङ लगाउने, लोला हान्ने, पानी वा हिलो छ्याप्ने, नमेटिने रङ प्रयोग गर्ने, जिस्काउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।

यस्ता गतिविधिले व्यक्तिको निजी जीवन र सामाजिक सद्भावमा असर पार्न सक्ने उल्लेख गरिएको छ । मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकाय, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन र पास प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले सूचनाको उल्लंघन गरी सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याउने जो–कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

निर्वाचनलाई सफल बनाउन सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, होटल व्यवसायी तथा सम्पूर्ण जिल्लावासीबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *