सर्लाही, १७ फागुन । मलंगवा जुनियर जेसिजले मलंगवास्थित बालमन्दिरको प्राङ्गणमा होली मिलन कार्यक्रम आयोजना गरी बालमन्दिरमा आश्रित बालबालिकासँग रंग, अबिर र खाजासहित हर्षोल्लासका साथ होली पर्व मनाएको छ ।

समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा बालबालिकालाई भेष्ट, अबिर तथा खाजा वितरण गरिनुका साथै उनीहरूसँग रमाइलो वातावरणमा होली खेलिएको थियो ।

कार्यक्रममा बालबालिकाको अनुहारमा खुसी र उत्साह झल्किनुका साथै सहभागीहरूबीच आत्मीयता र सहकार्यको भावना प्रकट भएको थियो ।

कार्यक्रममा मलंगवा जेसिजका पदाधिकारी तथा सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूमा अध्यक्ष सुवेश सागर श्रेष्ठ, उपाध्यक्ष सुभाष गुप्ता, अविनाश श्रेष्ठ, मनीष जैसवाल, सह–सचिव सुदीप चौधरी, वर्ष २०२५ का अध्यक्ष प्रवीन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, जुनियर जेसिजतर्फ अध्यक्ष ऋतिका मिश्रासहित सम्पूर्ण बोर्ड सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

कार्यक्रम संयोजक जुली कर्णले बालबालिकासँग प्रत्यक्ष रूपमा पर्वको खुसी साटासाट गर्न पाउँदा अत्यन्त सन्तोष मिलेको बताउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा किरण रानाभट्ट लगायत अन्य सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको मलंगवा जुनियर जेसिजका पूर्व अध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिए ।

आयोजक संस्थाले यस्ता सामाजिक तथा मानवीय गतिविधिले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै समाजप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

भविष्यमा पनि यस्ता रचनात्मक र सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता मलंगवा जुनियर जेसिजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *