सर्लाही, १७ फागुन । सर्लाहीमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै शान्ति सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले आज (आइतबार) देखि बख्तरबन्द गाडीसहित नियमित सुरक्षा गस्ती सुरु गरेको छ ।
यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा गस्ती गर्दै आएको थियो ।
सुरक्षा मजबुतीका लागि सेनाले अब जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बख्तरबन्द गाडीसहित गस्ती विस्तार गरेको हो ।
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ कालिध्वज गण पाँचकुमारी ब्यारेक ले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।

अत्याधुनिक सैनिक सवारी साधन प्रयोग गरी मतदान स्थल तथा संवेदनशील क्षेत्रहरूमा एकैसाथ सुरक्षा गस्ती र निगरानी तीव्र पारिएको छ ।
प्रमुख सेनानी उमेश खड्का का अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्द गाडीसहित सुरक्षा गस्ती सञ्चालन गरिएको छ ।
सेनाले जिल्लाभित्र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जनाएको छ ।

