सर्लाही, २६ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याइएका चाँदीका विभिन्न गरगहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको बाटोमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साहलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले साहको शरीर तथा उनले बोकेको झोला खानतलासी गर्दा पहेँलो रङका तीन वटा प्लास्टिकमा लुकाई-छिपाई राखिएको ९१५.४६० ग्राम चाँदीबाट बनेका विभिन्न गरगहना फेला पारेको जनाएको छ । ती गरगहना अवैध रूपमा भन्सार छलि गरी चोरी पैठारी गरेर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका गरगहना स्थानीय व्यक्तिहरूको रोहबरमा रीतपूर्वक बरामद गरी साहलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साह तथा बरामद गरगहनालाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
