सर्लाही, १६ चैत । रायन रिकेल्टन र रोहित शर्माको विस्फोटक अर्धशतकीय पारीको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा जितको खाता खोलेको छ ।
आइतबार सम्पन्न कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको २२१ रनको विशाल लक्ष्य मुम्बईले ५ बल बाँकी रहँदै १९.१ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो ।
२२१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर रायन रिकेल्टनले सर्वाधिक ८१ रनको उत्कृष्ट पारी खेले। उनले मात्र ४३ बलमा आक्रामक ब्याटिङ गर्दै जितको आधार तयार पारेका थिए ।
उनलाई अर्का ओपनर रोहित शर्माले पनि उत्कृष्ट साथ दिंदै मात्र ३८ बलमा ७८ रनको विस्फोटक पारी खेले । अन्त्यमा तिलक वर्माले १४ बलमा अविजित २० रन जोड्दै टोलीलाई जित दिलाए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार पारेको थियो ।
कोलकाताका लागि अजिंक्य रहाणेले सर्वाधिक ६७ रन बनाए भने युवा ब्याट्सम्यान अंगकृश रघुवंशीले मात्र २९ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै, फिन एलेनले पनि १७ बलमा ३७ रनको महत्त्वपूर्ण योगदान दिए । बलिङतर्फ, मुम्बईका लागि शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कोलकाताका सुनिल नारायण, कार्तिक त्यागी र वैभव अरोराले एक-एक विकेट लिए ।
