काठमाडाैं,चैत्र १७ । इरानमा युद्ध अन्त्यको झिनो आशाबीच अब यो युद्ध विनाशकारी मोडतर्फ अघि बढेको छ । इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढेको भन्दै १० दिन इरानमाथि हमला नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको केही दिनभित्रै इरानमाथि भीषण हमला भएको छ । अमेरिकाले इरानको इफहानस्थित विशाल हतियार भण्डारणमा सोमबार राति २ हजार पाउण्डको बंकर बस्टर बम प्रयोग गरेर हमला गरेको हो ।
इरानमाथि हमलापछि हिज्बुल्लाह र त्योभन्दा बलियो सैन्य शक्ति हुथीसमेत सामेल भएकाले अब यो युद्ध झनै तीव्र बन्ने दिशामा गएको हो । यो हमलाले अमेरिका र ट्रम्पको अविश्वसनीय छवि फेरि एकपटक उजागर भएको छ । अमेरिकामा ट्रम्पविरुद्ध ९० लाखभन्दा बढी नागरिक सडकमा उत्रिएका बेला यो आन्दोलनलाई ओझेलमा पार्न पनि अमेरिकाले इरानमाथि ठूलो हमला गरेको हुनसक्ने विश्लेषकहरूको दाबी छ । अमेरिकी अधिकारीहरूले यो हतियार डिपोमा ठूलो मात्रामा हतियार र सैन्य सामग्री रहेको र त्यसलाई बंकर बस्टर बमले निशाना बनाएको दाबी गरेका छन् । बंकर बस्टर बमको प्रयोग बलियो र भूमिगत क्षेत्रलाई निशाना बनाउन गर्ने गरिन्छ । यो हमलापछि सो क्षेत्रमा केही विस्फोटका आवाज सुनिनुका साथै विशाल आगोका मुस्लो देखिएको छ ।
इरानमा मात्रै होइन, यस्ता घटना अब पश्चिम एसियामा साउदी अरब, इजरायल, लेबनानसहितका देशमा समेत देखिन थालेका छन् । जसले इरान यद्ध अब तीव्र रूपमा फैलिएको र नयाँ मोडतिर गएको संकेत गर्छ । इरानले इजरायल र पश्चिम एसियाका अन्य देशमाथि एकसाथ सिधा निशाना बनाएर हमला तीव्र पार्दा हुथी र हिज्बुल्लाहले पनि यो क्षेत्रमा हमला बढाएका छन् ।
हुथीले रेड सी क्षेत्रमा आक्रमण तीव्र बनाउँदा हिजबुल्लाहले इजरायलमाथि केही मिसाइलले निशाना बनाउनुका साथै उसको एयर डिफेन्स सिस्टम समेत मिसाइल हानेर नष्ट पारिदिएको दाबी गरेको छ । इरान र उसको प्रोक्सी नेटवर्कमा रहेको हिज्बुल्लाहले मिसाइल प्रहार गर्दा सोमबार इजरायलको हाइफास्थित तेल डिपोमा भीषण आगो देखिएको थियो । इरानभित्र अमेरिका र इजरायलले ऊर्जा संयन्त्र, विद्यालय, अस्पताल, स्टिल उद्योगसहित आर्थिक गतिविधि हुने क्षेत्रलाई निशाना बनाइरहेको छ । जसको जवाफमा इरान र उसका प्रोक्सी नेटवर्कले अमेरिका, इजरायल र उनीहरूका आर्थिक क्षेत्रमा समेत हमला सुरु गरेको हो ।
अहिलेसम्मको युद्धमा इरानले चौतर्फी हमला गर्दासमेत व्यक्तिकेन्द्रित हत्या गरेको थिएन । जस्तो कि अमेरिका र इजरायलले इरानका नेता र सैनिक कमान्डरलाई लक्षित गरी हमला गरेन । तर अब इरानले इजरायल र उसलाई साथ दिने देशका नेतामाथि समेत हमला गर्ने जनाएको छ । यसले युद्ध अब इजरायली र अमेरिकी ढाँचामै ‘टार्गेट किलिङ’ को दिशामा अघि बढेको देखिन्छ ।
अर्कोतिर इजरायल र अमेरिकाले इरानभित्र सैन्य र मानवक्षेत्र मात्रै नभई उद्दार र सहयोग क्षेत्रमा समेत आक्रमण गरेका छन् । जस्तो कि इरानभित्र दर्जनौ स्थानमा रेडक्रसकर्मी निशानामा परेमा छन् । उता लेबनानमा इजरायलले हिज्बुल्लाहविरुद्ध भन्दै निरन्तर मानव बस्ती र सैनिक क्याम्पमाथि निशाना बनाइरहेको छ । यस क्रममा लेबनानमा ३ जना राष्ट्रसंघ अन्तर्गतका शान्ति सेनासमेत मारिएका छन् ।
यो निकै गम्भीर घटना हो । राष्ट्रसंघका शान्ति सैनिकमाथिको हमला जघन्य अपराधभित्र पर्छ । यो हमलालगत्तै फ्रान्सले राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक माग गरेको छ । लेबनानमाथि हमलाका क्रममा इजरायली सेनाभित्र समेत ठूलो हताहती भएको खबर आइरहेका छन् । इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जमिरले अब इजरायली सेना थाकिसकेको र युद्ध लड्न नयाँ उत्पे्ररण चाहिने बताएको केही दिनभित्रै लेबनानमा इजरायली सेना मारिएको खबर आएको हो ।
इजरायली सेना पछिल्लो समयमा ७ अक्टोबर, २०२३ मा हमासको हमलापश्चात लगातार युद्धमोर्चामा छ । त्यसैले करिब साढे दुई वर्षभन्दा लामो युद्धले इजरायली सेनामा ठूलो समस्या पैदा भइरहेको छ । चिफ अफ स्टाफ जमिरले अब लामो युद्ध भए इजरायली सेनामा ठूलो संकट आउने चेतावनी दिएका थिए ।
यही क्रममा इजरायली सेनाले युद्धमा आवश्यकभन्दा बढी अनावश्यक र संवेदनशील क्षेत्रलाई निशाना बनाइरहेका छन् । सिधा हेर्ने हो भने इजरायल र अमेरिकाले इरानसहितका देशमा दर्जनौं युद्ध अपराधका घटना घटाएका छन् । रेडक्रसकर्मी, उद्दारकर्मी, विद्यालय, अस्पतालमा निरन्तर हमला गर्नु युद्धको नियम विपरीत भए पनि कसैले यसबारे आवाज उठाएको छैन । सोमबारमात्रै पनि इजरायलले तेहरान विश्वविद्यालयलाई निशाना बनाएर हमला गर्यो । जुन युद्धअपराधभित्रै पर्छ । इरानको मरकजी प्रान्तको महल्लातमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । इजरायली र अमेरिकी हमलामा इरानमा सबैभन्दा बढी सर्वसाधारण मारिएका छन् । हालसम्म इरानमा २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो युद्धको मार सबैभन्दा बढी लेबनानीले खेपेका छन् । इजरायल र अमेरिकी हमलापछि हिज्बुल्लाहले इजरायललाई निशाना बनाएसँगै इजरायलले लेबनानका मावन बस्तीलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । यो क्रममा लेबनानमा करिब साढ ११ को मृत्यु भएको छ ।
अमेरिकी सैन्य बेस र अमेरिकी लगानी रहेका कम्पनी क्षेत्रमा समेत इरानले लगातार निशाना बनाइरहेको छ । यस क्रममा कुवेतमा ६, बहराइनमा ३, साउदी अरबमा २, युएईमा ११ र ओमानमा ३ जना मारिएको रिपोर्ट छ । इरानले अमेरिकी सैनिक अड्डा र अमेरिकी लगानी रहेका ऊर्जा तथा आर्थिक केन्द्रमाथि जवाफी हमला गरेको हो । कुवेतमा सोमबार मात्रै इरानले हमला गर्न १० सैनिक घाइते भएका छन् भने साउदी अरबमा एक अमेरिकी बेसमा हमला गर्न एउटा अमेरिकी सैन्य विमान ई–३ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । जसको मूल्य करिब ७ सय मिलियन डलर पर्छ ।
इरानले यो हमलामा ६ ब्यालिस्टिक मिसाइल र २९ ड्रोन प्रहार गरेको थियो । सोमबार राति पनि इरानले साउदी अरब मा प्रहार गरेका ८ वटा ब्यालिस्टिक मिसाइल र १० वटा ड्रोन खसालेको दाबी गरेको छ । इरानमाथि थप आक्रमणका लागि अमेरिकाको यूएसएस त्रिपोलीबाट अमेरिकी सेना उत्रिएसँगै युद्ध तीव्र बनेको हो । इरानविरुद्धको युद्धमा हात हालेको अमेरिकालाई इरानले कठोर जवाफ दिएपछि अब अमेरिका भने इरानको युरेनियम उठाएर लैजाने रणनीतिमा अघि बढेका खबर पनि आइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले इरानसँग रहेको करिब ४५० किलो सम्बद्र्धित जसरी पनि उठाएर लैजाने योजना बनाएको र सोही अनुसार सैन्य तयारी गरेको खबर बाहिर आएको छ । यसको उद्देश्य इरानलाई परमाणु हतियार बनाउन रोक्नु भएको बताए पनि अमेरिकी ऊर्जा आवश्यकता र उसको परमाणु कार्यक्रमका लागि यसलाई प्रयोग गर्ने योजना हुनसक्ने अनुमान गरिएको छ । ट्रम्पको यो योजनाअनुसार अमेरिकी सेना सिधै इरानी भूमिमा छिरेर युरेनियमलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपर्ने छ । जुन काम निकै जोखिमपूर्ण छ । त्यसैले उनले यसबारे अन्तिम निर्णय गरिसकेका छैनन् ।
इरानले जमिनबाट हुने हमलाको तयारी पनि तीव्र रूपमा गरिरहेको छ । अमेरिकाको पहिलो लहरको आक्रमण कमजोर बनेसँगै ट्रम्पले हजारौं सेना पश्चिम एसियाली क्षेत्रमा पठाएका छन् । जसलाई इरानले ‘कफिन’मा फिर्ता गरिदिने धम्की दिइरहेको छ । सिधा रूपमा भन्दा अब यो युद्ध इरानविरुद्ध अमेरिका र इजरायलको मात्रै रहेन । किनकि इरानले यो क्षेत्रमा सबै देशमाथि एकसाथ र उस्तै गतिमा शक्तिशाली हमला गरिरहेको छ भने अमेरिका र इजरायलले पनि पूरै शक्ति लगाएर इरानमाथि हमला गरेका छन् ।
जसमा इरानलाई साथ दिन हुथी र हिज्बुल्लाह खुलेर आएका छन् । हिजबुल्लाहभन्दा यमनको हुथी समूह निकै बलियो मानिन्छ । यो समूहसँग उन्नत स्तरका मिसाइल छन् । जसले अमेरिका र इजरायलका युद्धपोतमाथि सिधा प्रहार गर्न सक्छन् । यसअघि देखि नै हिज्बुल्लाहलाई निशाना बनाइरहेको इजरायल र अमेरिका पनि अब यी समूहविरुद्ध पनि कारबाहीमा उत्रिँदा युद्धको आकार झनै विस्तार हुने खतरा बढेको छ । जसले स्ट्रेट अफ होर्मुज बन्द हुँदा तेल आपूर्ति गर्ने रेड सी क्षेत्र समेत अवरुद्ध हुनेछ । यसले विश्वमा थप ऊर्जा संकट भोग्नुपर्ने हुनसक्छ ।
