सर्लाही, १९ चैत । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा भएको छ ।
आजदेखि सर्लाहीसहित देशभर एकैसाथ एसइइ सुरु हुँदै छ ।
परीक्षार्थीले आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिने छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने एसइइका लागि सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
विद्यार्थी सङ्ख्या घटेकाले यो वर्ष अघिल्लो वर्षको तुलनामा तीनवटा परीक्षा केन्द्र घटाइएको छ । प्राविधिकधारका परीक्षा सदरमुकाम मलंगवामा श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा सञ्चालन हुने छन् ।
एसइइमा सर्लाहीबाट नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ एक हजार ८६ गरी जम्मा ११ हजार ३७१ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका इकाइ प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार परीक्षा सञ्चालन गर्न ३५ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र नजिकको प्रहरी चौकीहरुमा प्रश्नपत्रसमेत पुगिसकेको छ ।
घरदेखि टाढा परीक्षा केन्द्र परेका परीक्षार्थीहरु परीक्षा केन्द्र नजिकै कोठा भाडामा लिएर बसेका छन् । यो वर्षदेखि एसइइको परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्यलाई मोवाइल फोन प्रयोग गर्न दिइने छैन् ।
परीक्षामा खटिएका शिक्षक तथा कर्मचारी र परीक्षार्थीले प्रतिवन्धित सामग्रीहरु चिट, गाइड, किताब, नोटबुक तथा मोवाइल र विद्युतीय सामग्री प्रयोगमा पूर्णरुपले निषेध गरिएको इकाइ प्रमुख गौतमले बताए ।
परीक्षा केन्द्रको २०० मिटर वरपर विद्यार्थीका अभिभावक तथा शुभेच्छुकहरुलाई बस्न नदिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामुराज कडरियाले एसइइलाई स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबैपक्षसँग आग्रह गरेका छन् ।
