सर्लाही, १९ चैत । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षा सकिएलगत्तै सम्वन्धित परीक्षा केन्द्रहरुमै आजैबाट परीक्षण गर्न सुरु गरिएको छ ।
सरकारले यो वर्षदेखि एक महिनाभित्रै एसइइको नतिजा प्रकाशन गर्ने निर्णय गरे बमोजिम परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले जिल्लाको ३५ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न हुनासाथ कापी जाँच्ने काम सुरु गरिएको जानकारी दिए ।
प्रहरीको सुरक्षामा परीक्षा केन्द्र रहेको पालिकाका विषयगत माध्यमिक तहमा अध्ययन गराउने शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण गर्ने काम गरिरहेका सूचना अधिकारी कुशवाहाले बताए । उनका अनुसार एसइइ अन्तर्गत आज पहिलो दिन सर्लाहीमा ८०२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
फारम भरेकामध्ये ४५८ जना छात्रा र ३४४ जना छात्र पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा सामेल नभएका शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।
सर्लाहीमा आज पाँच हजार ३७१ छात्रा र पाँच हजार १९८ छात्र गरी जम्मा १० हजार ५६९ जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् ।
