सर्लाही, २० चैत । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय, रामवनमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा मोबाइलमार्फत प्रश्नपत्र बाहिर ल्याउन खोज्ने तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका परीक्षार्थीहरूमा श्री नमुना माध्यमिक विद्यालय, बलरा नगरपालिका–८, गडहिया डुमरियामा अध्ययनरत पृतम यादव र आलोक यादव तथा श्री नारायण हरि माध्यमिक विद्यालय, गोडैता नगरपालिका–५, रामवनमा अध्ययनरत सुमित यादव रहेका छन् ।
परीक्षा सञ्चालनका क्रममा ती परीक्षार्थीहरूले मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने प्रयास गरिरहेको अवस्थामा केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिई परीक्षा केन्द्रमा खटिएको प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, बरहथवा तर्फ लगेको छ ।
