सर्लाही, २२ चैत । औषधि व्यवस्था विभाग वीरगन्जले चालू आर्थिक वर्ष ०८२/८३ मा पछिल्लो वर्षको तुलना यस वर्ष अनुगमनमा तीव्रता दिएको जनाएको छ । औषधि बिक्री–वितरण र उत्पादनमा पनि केही मात्रामा लापरबाही भएको भन्दै बजार अनुगमनलाई तीव्रता दिएको जनाएको हो ।
विभागले चालू आर्थिक वर्षको लक्ष्यअनुसार अगाडि बढ्दै गएको र अहिलेसम्म ६० प्रतिशत लक्ष्य पूरा गरेको बताएकाे छ । यस्तै, चालू आर्थिक वर्षको आठ महिनामा ३९३ वटा औषधि पसलमा निरीक्षण गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
नाै जिल्लाको अनुगमन र निरीक्षणको जिम्मेवारी पाएको विभागले औषधि पसल निरीक्षणलाई तीव्रता दिएको हो । यस्तै, विभागले चालू आर्थिक वर्षको आठ महिनामा ५० वटा औषधि पसल दर्ता प्रमाणपत्र निलम्बन पनि गरेको जनाएको छ ।
विभागकी सूचना अधिकारी रजिना श्रेष्ठका अनुसार औषधि पसल अनुगमनपछि पसल दर्ता प्रक्रियामा ३२ वटा पनि आएको अवस्था छ । विभागमा नाै जिल्लाका उपभोक्ताले अहिलेसम्म २९ वटा विभिन्न माध्यमले उजुरी पनि दर्ता गराएको उनले बताइन् ।
जसमध्ये अहिलेसम्म २० वटा उजुरी फर्स्याेट पनि भइसकेको सूचना अधिकारी श्रेष्ठले बताइन् । मधेशका ६ जिल्ला र बागमती प्रदेशको तीन जिल्लाको जिम्मेवारी पाएको विभागले अहिलेसम्म नाैवटा उद्योग पनि निरीक्षण गरेको श्रेष्ठले बताइन् ।
यस्तै, अहिलेसम्म ६०७ वटा नयाँ औषधि पसल दर्ता भएको फिल्ड सुपरभाइजर रवि चौधरी थारूले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा एक हजार ८६५ जनाले औषधि पसल दर्ता प्रमाणपत्र नवीकरण गराएका छन् ।
विभागले नाै जिल्लाको अनुगमनमा अहिलेसम्म ४३३ जनाको फार्मेसीहरूलाई पनि रद्द गरेको फिल्ड सुपरभाइजर थारूले बताए ।
विभागमा पुगेर एकजनाले नयाँ व्यवसायी प्रमाणपत्र पनि प्रदान गरेको कार्यालयको तथ्यांकमा देखिन्छ । विभागले अहिलेसम्म ९५ जनाको व्यवसायी प्रमाणपत्र नवीकरण गराएको फिल्ड सुपरभाइजर थारूले बताए ।
