सर्लाही, २५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी प्रसूति बिदा लगायतका सबै बिदाको विवरण स्वीकृत भएको अवधि र बिदा सकिएपछि हाजिर भएको मिति सहित मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
यस पहलको उद्देश्य निजामती कर्मचारीहरूको बिदा व्यवस्थापनमा पारदर्शिता र समन्वय सुनिश्चित गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
सचिव चन्द्रकला पौडेलले सम्बन्धित कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेकी छन् ।

