काठमाडौं , २९ चैत । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताका क्रममा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

उनले इरानसँगको वार्तामा ट्रम्प पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको संकेत गरे । इरानसँगको वार्तामा ट्रम्प पनि संलग्न रहेको र यस क्रममा उनले ट्रम्पसँग आधा दर्जनदेखि एक दर्जन पटकसम्म कुराकानी गरेको बताए ।

भान्सले अमेरिकाले एकदमै सहज प्रस्ताव दिएको र यही नै अन्तिम र उत्कृष्ट अफर रहेको जिकिर पनि गरे । उनले भने, ‘हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् या गर्दैनन् ।’

इरानसँगको वार्तापछि एक पत्रकार सम्मेलनमा दुवै देश सम्झौताको अवस्थासम्म पुग्न नसकेको उल्लेख गर्दै उनी इस्लामावादबाट बाहिरिइसकेका छन् ।

वार्ताको हतारो छैन : इरान

इरानी समाचार एजेन्सी तस्निमले एक जानकार स्रोतलाई उद्धृत गर्दै ‘बल अमेरिकाको कोर्टमा’ रहेको र ‘वार्ताका लागि इरानलाई कुनै हतार नभएको’ जनाएको छ ।

‘इरानले वार्तामा उचित पहल र प्रस्तावहरू पेस गर्‍यो। अब मुद्दाहरूलाई यथार्थपरक रूपमा हेर्ने बल अमेरिकाको कोर्टमा छ,’ स्रोतलाई उद्धृत गर्दै अलजजिराले भनेको छ ।

स्रोतले अमेरिकालाई युद्धमा जस्तै वार्तामा पनि गलत आकलन गरेको आरोप लगाउँदै ‘अमेरिका कुनै उचित सम्झौतामा सहमत नभएसम्म’ होर्मुज स्ट्रेटमा केही पनि परिवर्तन नहुने चेतावनी दिएको छ । स्रोतको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘इरानलाई कुनै हतार छैन ।’

सम्भावित अर्को चरणको वार्ताका लागि कुनै मिति वा स्थान तय गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *