सर्लाही,३० चैत्र ।  सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

१० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाइसक्न भनेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।

गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही १२ चैतमा शपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *